कांग्रेसमा सयौंको संख्यामा खेलाडीहरुको प्रवेश

काठमाडौँ, कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा सयौंको संख्यामा खेलाडीहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ सहित ३ सय तेक्वान्दो खेलाडीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । वालुवाटारमा आयोजिक कार्यक्रममा गुरुङ सहितका नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरी पार्टीमा प्रवेश गराएका थिए ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवा र वरिष्ठ नेता पौडेलले संघका संस्थापक तथा महासचिव गुरुङ सहितका खेलाडीहरुलाई खादा तथा माला लगाएर आफ्नो पार्टीमा स्वागत गरेका थिए । खेलकुद मन्त्री तथा काँग्रेस नेता राजन केसीको पहलमा खेलाडीहरु काँग्रेस प्रवेश गरेका हुन् । नेपाली काँग्रेसले अब खेल क्षेत्रलाई प्राथिमकतामा राखेर काम गर्नुपर्ने मन्त्री केसीले बताए ।

तेक्वान्दो संघसँग आवद्ध अधिकांस खेलाडीहरु र प्रशिक्षकहरु काँग्रेसमा प्रवेश गरेका हुन् । विभिन्न डोजाङका प्रमुखहरु मदन गिरी, विजय न्यौपाने, नुर्वु तामाङ मनोज खड्गी, कविराज खड्गी, राजेन्द्र खत्री तथा एमालेबाट रवि भुजेल, मनोज खड्गी लगायतका नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । परासर गोर्खाली सहितका ६० जना माओवादी निकट खेलाडीहरु पनि काँग्रेस प्रवेश गरेका छन् । मदन गिरी सहित १७ जना नयाँ शक्तिबाट पनि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र पौडेलले गुरुङलाई तेक्वान्दो सम्राट भन्दै उनी र उनको टीमलाई स्वागत गरे । सभापति देउवाले गुरुङलाई पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिमा समेत मनोनयन गरेका छन् । बाँकी प्रवेशीहरुलाई पनि विभिन्न समितिमा स्थान दिने देउवाले बताएका छन् । नेपाली जनताले राणा राजा पञ्चायतको अधिनायक र निरंकुशता नस्विकारेको इतिहास स्मरण गराउँदै कम्युनिष्टको एकताको नाममा ल्याउन खोजेको अधिनायक पनि नेपाली जनताले नस्विकार्ने बताए ।

नेता पौडेलले सबै नवप्रवेशीहरुलाई स्वागत गर्दै खेलकुदको विकासका लागि नेपाली काँग्रेस सदैव लागिपर्ने बताए । खेल प्रतिभाहरुलाई अगाडी बढाउने काममा पनि पार्टी लागिपर्ने र देशले पनि उनीहरुलाई प्रवद्र्धन गर्नुपर्ने पौडेलको भनाई छ । कम्युनिष्टहरुको एकताले लोकतन्त्रमाथि खतरा मडारिरहेको उल्लेख गर्दै पौडेलले कम्युनिष्टहरुको लोकतन्त्र मास्ने डिजाइनलाई काँग्रेसले सफल हुन नदिने बताए ।

पार्टी प्रवेश पश्चात बोल्दै गुरुङले लोकतन्त्रमा मात्र खेल क्षेत्र पनि मजवुद हुने भएकोले पनि आफूहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उल्लेख गरे । अब खेल क्षेत्रको जिम्मा नेपाली काँग्रेसले लिनुपर्ने उनले बताए ।