सोलुखुम्बु, कात्तिक २८ । आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकै गर्दा सोलुखुम्बुका आम मतदाता उत्साहित बनेका छन् । यतिबेला उम्मेदवारहरु चुनावी एजेण्डासहित मत माग्न जनताका घर/घरमा पुगिरहेका छन् ।
उनीहरू आफ्नो पोल्टोमा मत पार्नका लागि जनतालाई अनेकौ आस्वासन देखाउँदै मतदाताको घरघरमा पुग्ने गरेको देख्न पाइरहेका छौ । प्राय सबै उम्मेदवारले जिल्लाको समृद्धिका लागि आफूलाई जिताउन हरेक मतदातासँग आग्रह गरिरहेका छन् । उम्मेदवारले दिने आश्वसन र मतदाताको चाहाना पनि उस्तै छ । महाकुलुङ गाउँपालिका– ५ सोलुखुम्बुका भुपन राई आश्वासन मात्रै भन्दा पनि काम गरेर देखाउने उम्मेदवारलाई मतदान गर्ने सोच रहेको बताउँछन् ।
एकसय १८ वटा मतदानस्थल र १२५ मतदान केन्द्र रहेको सोलुखुम्बुमा नेपाली काँग्रेस तथा वाम गठबन्धनसहित सात दलका उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले जनताको मन जित्नका लागि मतदातालाई दिउँसै सपना देखाउन बाँकी छाडेका छैनन् । त्यसैले लोकप्रिय कार्यक्रम र एजेण्डा भएका प्रतिनिधि छान्ने सोलुदुधकुण्ड नगरपालिका ३ का मगंलसिंङ तामाङको धारणा छ ।
यहाँका मतदाताको आरोप छ, २०४८ साल देखि नै निर्वाचित उम्मेदवार विश्वासिला भएनन् । दूधकोशी गाउँपालिका–२ की डोल्मा खालिङ पहिलोपटक मतदान गर्दैछन् । उनी भन्छन् पर्यटन प्रवद्र्धन गर्दै संवृद्ध सोलुखुम्बु बनाउने स्पष्ट धारणा भएको उम्मेदवारलाई भोट दिने सल्लाह भएको छ । बग्रेल्ती नयाँ सडक खुलेका छन्, तर बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने ती सडकले नागरिकलाई झनै सास्ती थपिदिन्छ ।
दीर्घकालीन सडकको योजना पनि अवका जनप्रतिनीधिमा हुनुपर्ने मतदाताको अपेक्षा छ । नेचासल्यान गाउँपालिका– २ सोलुखुम्बुका नवराज पराजुली भन्छन् सडक नहुँदा बिरामी प¥यो भने घण्टौ बोकेर अस्पताल पुग्नुपर्छ, होइन भने हेलिकप्टर नै चार्टर गर्नुपर्छ, त्यसैले सडक विकासको पहिलो पूर्वधार हो, यो पूर्वधारलाई समेत समेट्ने नेतृृत्व चयन गर्नुपर्छ ।
अचानक बिरामी भएमा उपचार गर्ने भरपर्दो अस्पताल छैन, जिल्लामा रहेको एक मात्र अस्पताल जहाँ घण्टौं हिँडेर आइपुग्नुपर्ने, या त हेलिकप्टर चार्टर गरेरै राजधानी पुग्नुपर्ने बाध्यता छ । त्यति मात्र होइन सरकारी सेवाकै लागि खुम्बुवासी हेलिकप्टर चार्टर गर्न बाध्य भएकाले नै सर्वसुलभ स्वास्थ्य सेवा, सहज सरकारी सेवा पनि यसपटक सोलुखुम्बुका मतदाताको ससर्त बनेको हो ।
मतदाताको अपेक्षा र उम्मेदवारको आश्वसन उस्तै उस्तै छ तर विगतलाई हेर्दा उम्मेदवारको कतिपय आश्वसन आश्वसनमै सीमित हुने भएकाले पनि आम मतदाता उम्मेदवारदेखि सशंकीत भएका हुन् ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट ६९ हजार ४११ मतदाताले मंसिर १० गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।