जाजरकोटमा शाह र बस्नेत मैदानमा कसको पल्लाभारी चर्चाको विषय बन्दै

माया पन्त
जाजरकोट,कार्तिक २९ । पहिलो चरणको मंसिर १०मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट शक्तिबहादुर बस्नेत र राजिव विक्रम शाह मैदानमा छन् ।
प्रतिनिधी सभा लागि बाम गठबन्धनबाट माओबादी नेता बस्नेत र काँग्रेसबाट शाह मैदानमा उत्रेपछि यहाँको निर्वाचन थप रोचक बन्दै गएको छ । प्रतिनिधी सभामा बस्नेत र शाह विच तीब्र प्रतिश्पर्धा हुने देखिएको छ । पूर्व गृहमन्त्री तथा माओबादीका दोस्रो पुस्ताका प्रभावशाली नेता बस्नेतलाई टक्कर दिन काँग्रेसले समाजसेवा मार्फत लोकप्रिय बनेका शाहलाई चुनावी मैदान उतारेको हो ।
यस जिल्लाका लागि दुवैजना हेभिवेटका नेता मानिन्छन् । बस्नेत र शाह चुनावी मैदानमा सँगै यहाँका मतदाताहरु विच कस्ले बाजी मार्ला भन्ने चर्चा बढेकोे छ । बाम गठबन्धनको चुनावी तालमेलले सफलता पाउला या नपाउला ? भन्ने चासो पनि बढेको छ । गाउबस्ती देखि सदरमुकामका चौतारा र चिया पसलमा समेत शाह र बस्नेत मध्ये कस्ले चुनाव जित्ला ? भन्ने विषयमा बहस शुरु भएको छ । २०७० को संविधान सभा र स्थानीय तह निवार्चनमा दलहरु प्राप्त गरेको मतका आधारमा बाम गठबन्धनका उम्मेदवार बस्नेतको पल्ला भारी देखिए पनि लोकप्रियताका हिशावले शाह कम्जोर नभएको भेरी ज्ञानोदय क्याम्पस राजनिाति शास्त्रका उपप्रध्यापक छबीराज शर्माले बताए । दुबै जना विच तीब्र प्रतिश्पर्धा देखिन्छ उनले भने । मतदाताले दुवै नेतालाई उत्तिकै रुचाएको उपप्रध्यापक शर्माले बताए ।


विद्यार्थी जीवनदेखि राजनितिमा होमिएका बस्नेत जुझारु युवा नेता हुन् । १० बर्षे सशस्त्र द्वन्दमा अग्र मोर्चाको नेतृत्व गरेका उनी माओबादी केन्द्रमा दोश्रो दर्जाका प्रभावशाली नेताको रुपमा परिचित छन् । २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नं १ बाट निर्वाचित बस्नेतले गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समेत समाली सकेका छन् । उनले जाजरकोट डोल्पा सडक, जाजरकोट जुम्ला सडक लगाएत पुर्वाधार निर्माणमा सकृय योगदान पुर्याएका छन् । पुर्व गृह मन्त्री बस्नेतले नलगाड जलविद्युत आयोजनाको डिपीआर निर्माण, १५ शैयाको जिल्ला अस्पताललाई ५० शैया बनाउने, शिक्षकहरुलाई दुर्गम भत्ता उपलब्ध गराउने लगाएत कार्यमा पनि योगदान पुर्याएको शर्माले बताए ।
त्यस्तै उच्च खानदान परिवारमा जन्मेका शाह समाजसेवी पुष्ठभुमिका लोकप्रिय नेता हुन् । २० बर्ष देखि पुर्ख्यौली थलो जाजरकोटमा समाजसेवा गर्दै आएका शाह २०७० को संविधान सभामा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । निजी खर्चमा २०६६ को झाडापखला र २०७२ को स्वाइनफ्लोको माहामारी नियन्त्रणमा सकृयता, विभिन्न प्राकृतिक प्रकोपबाट पिडितलाई उद्धार तथा रहात वितरण, दुर्गम गाउमा पटक पकट स्वास्थ्य शिविर संचालन, थलहमा २५ शैयाको अस्पताल निर्माण शुरु, विपन्नलाई निशुल्क उपचार तथा शिक्षाको ब्यबस्था लगाएत कार्यमा पुर्याएको योगदानले शाहको लोकप्रियता बढेको शर्माले बताए । काँग्रेसबाट संसद निर्वाचित भए यता शाहले जाजरकोट जुम्ला सडक, भेरी ज्ञानोदय क्याम्पसको भवन लगाएत पुर्वाधार निर्माण र नेपाली सेनाको गण पुनरस्थापना गर्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उनले बताए । जिल्लाको समग्र विकासका हिशावले दुर्व नेताको उत्तिकै योगदान रहेको उनको भनाई छ ।
प्रतिनिधी सभामा निर्वाचित हुने अवसर पाए भेरी करीडोर, नलगाड हाईड्रोपावर, जटीवुटी उद्योग लगाएत निर्माणमा जोड दिने बस्नेतले बताए । प्राविधीक तथा उत्पादनमुलक शिक्षाको विकासलाई थप जोड दिने उनले बताए । काँग्रेसका शाहले प्रतिनिधी सभा सदस्य निर्वाचित भएमा जिल्लाभर सडक सञ्जाल जोड्ने, युवा वेरोजगारी समस्या समाधान गर्ने, गरीवी घटाउने, जल विद्युत उत्पादन, खनिज उद्योग, पर्यटन प्रवद्र्धन लगाएत कार्यमा जोड दिने बताए । जिल्लाको अविकास, पछ्यौटेपन, विपन्नता, वेरोजगारी लगाएत समस्याको समाधान नै मुख्य एजेण्टा भएको शाहले बताए ।
२०७० को निर्वाचनमा २ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा काँग्रेसका उम्मेदवारहरुले १६ हजार ६ सय ७४, एमालेकाले १६ हजार ६ सय २४ र माओबादीकाले १४ हजार ८ सय १७ मत पाएका थिए । उक्त निर्वाचनमा बाम भोट काँग्रेसभन्दा १५ हजार बढी देखिएको छ । यसैगरी स्थानिय निर्वाचनमा एमालेले २० हजार ६ सय, काँग्रेसले १९ हजार ४ सय ३९ र माओबादी केन्द्रले १७ हजार ४ सय ६१ मत पाएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा ३ सय मत मात्र पाएको थियो । स्थानीय निर्वाचन अनुसार बाम गठबन्दन काँग्रेस भन्दा १८ हजार ६ सय मतले अगाडि देखिन्छ । २०७० को संविधान सभा र स्थानीय तहको मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार बस्नेतको भोट शाहले पाउने भन्दा दोब्बर छ । वाम गठबन्धनकोे चुनावी तालमेलले शाहलाई चुनौती थपेको छ । विगतको निर्वाचनको भोटलाई प्रतिनिधी सभा र प्रदेश सभामा पुरै आधार मान्न नसकिने सचिव खडग विसीले बताए । वाम गठबन्धन भन्दा का“ग्रेस कम्जोर नभएको उनले बताए ।
वाम गठबन्धनले बस्नेतको जीत निश्चित भएको भेरी नगरपालिका १ का ढकबीर रानाले बताए । विगत निर्वाचनको मतका आधारमा बस्नेतको पल्ला भारी भएको रानाले बताए । स्थानीय तह निर्वाचन पछि थप भएका ५ हजार मतदाताको भोट कुृन उम्मेदवारलाई जाला भन्ने एकीन गर्न नसकिने उनले बताए । बाम मतदाता ईमान्दार भए बस्नेतको जीत निश्चित छ,’ उनले भने । जाजरकोटमा प्रतिनिधी सभाको १ क्षेत्र र प्रदेश सभाका लागि २ क्षेत्र रहेका छन् । प्रतिनिधी सभा निर्वाचनका लागि ८३ हजार ९ सय ३७ मतदाता, ८५ मतदान स्थल र १ सय १६ मतदान केन्द्र रहेका छन् । प्रदेश सभा क’ मा ४५ हजार ४ सय ७२ मतदाता, ६३ मतदान केन्द्र रहेका छन् भने ख’ मा ३८ हजार ४ सय ६५ मतदाता र ५३ मतदान केन्द्र रहेका छन् ।