काठमाडौँ । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । उनका परिवारका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो ।
प्राप्त जानकारी अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।
३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत उनले केही समयअघि विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वल्र्ड रेकडमा नाम लेखाउन प्रयास पनि गरेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो ।
यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो । श्रृद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाल एकाडेमी राख्ने पहल भइरहेको कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले जानकारी दिएका छन् ।