जाजरकोटमा यातायात बन्द

बद्री पन्त

जाजरकोट, मंसिर ३ । जाजरकोट बस दुर्घटनाका घाईतेद्धारा छिन्चु जाजरकोट सडकखण्डको यातायात अनिश्चितकालका लागि बन्द गरेका छन् । दुर्घटना भएको १० महिना बितिसक्दा पनि सम्बन्धित निकायले घाइतेहरुको उपचारका लागि केही रकम उपलब्ध नगरेको र उपचारमा समेत व्यवास्ता गरेको पिडितले अनिश्चितकालका लागि यातायात सेवा बन्द गरेका हुन् ।

गत वर्षको फागुन २६ गते जाजरकोटको बोहरा गाउँ स्थित पाँसागाड खोलामा बस दुर्घटनाका घाइतेहरुले राहत नपाएको भन्दै घाइतेका आफन्तले आइतबार देखि सदमुकाम खलंगा हुँदैं काठमाण्डौं, नेपालगञ्ज, सुर्खेतसम्म चल्ने यातायात सेवा ठप्प पारेपछि यात्रुहरु मर्कामा परेका छन् । घाइतेको उपचारका लागि हालसम्म पनि बेवास्ता गर्नुको साथै उपचार खर्च उपलब्ध नगरेको भन्दै यातायात बन्द गर्न बाध्य भएको घाइते प्रताप गिरीले बताए ।

दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए । भने, ३५ जना घाइते भएका थिए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले सरोकारवालाहरुसँग छलफल भईरहेको बताएका छन् । घाइतेको शीघ्र उपचार तथा पीडितलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रमुख जिल्ला अधिकारी शाहीले बताएका छन् ।