सुरक्षा व्यवस्था मिलाउन प्र.म को निर्देशन

काठमाडौँ, मंसिर ४ । अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध रहेको जानकारी दिँदै उनले यस कार्यमा कसैसित सम्झौता नहुने बताएका छन् । गृहमन्त्रालयले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिएका छन् ।

आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस् प्रम देउवाले भने । उनले लामो संघर्षपछि वर्तमान संविधान आएको चर्चा गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेका कुरामा जोड दिए । गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचन पछिका तिनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

निर्वाचनमा सुरक्षाका चुनौतीको पहिचान भइसकेको र चुनौतीलाई समाधान हुने गरी सुरक्षाको प्रवन्ध मिलाइने सचिव सापकोटाले बताएका छन् । कार्यक्रममा मध्यमाञ्चलन क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले यस क्षेत्रका सबै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचनको सुरक्षाका लागि तयार गरेका योजनाका बारेमा जानकारी दिएका थिए ।

गोष्ठीमा सबै जिल्लाका सुरक्षा अधिकारीले सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायका बारेमा समेत जानकारी गराएका थिए । सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएको बताएका थिए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनको बारेमा अनुभव आदानप्रदान समेत भएको थियो । प्रदेशनम्बर ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडाँै, भक्तपुर, ललितपुर जिल्ला पर्दछन् ।

गोष्ठीमा गृहमन्त्रालयका सचिव सापकोटा, नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी तथा रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सहभागी भएका थिए ।