आर्थिक समृद्धि र सुशासनका लागि मेरो उम्मेद्वारी : अर्थ राज्यमन्त्री राणा

ललितपुर, मंसिर ५ । विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले बताएका छन् ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसार अभियानका अन्तर्गत गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उनले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताए । जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उनको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिने बताएका छन् । उनले कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्ने कुरामा जोड दिए ।

लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने राणाको दावी छ । जनताको सेवा नै आफ्नो मूल मर्म भएको बताउँदै राणाले यस निर्वाचनमा जनताले पूर्ण विश्वासका साथ भोट हाल्ने कुरामा ढुक्क रहेको बताएका छन् ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार ऋषिराम घिमिरेले हाम्रो देश कृषि प्रधान देश भएकाले कृषि क्षेत्रबाट देशमा आमूल परिवर्तन हुन सक्ने बताएका छन् । ललितपुर जिल्ला क्षेत्र नं १ (क) का अधिकांश जनसमुदायहरु कृषिमा निर्भर भएकाले कृषि क्षेत्रमा विशेष योजना सहित आफु चुनावी मैदानमा होमिएको घिमिरेले बताए ।

त्यस्तै ललितपुर जिल्ला क्षेत्र नं १ (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुदको माध्यमबाट देशको आर्थिक उन्नती हुनसक्ने बताएका छन् । खेल क्षेत्र त्यस्तो माध्यम हो जसले राष्ट्रलाई विश्व सामु चिनाउन सक्छ–उनले भने । पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने यस क्षेत्रका मतदाताको भनाई छ ।