कम्युनिष्टलाई भोट दिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो : प्रकाशनन्दन जोशी

ललितपुर÷ ६ मंसिर, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार प्रकशनन्दन जोशीले कम्युनिष्टलाई भोट दिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो भनेका छन् । बुधवार ललितपुरको पुल्चोकमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै जोशीले यस्तो बताएका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस अल्पमतमा पर्दा संविधान नबनेको स्मरण गर्दै जोशीले भने,‘संसदमा कम्युनिष्टहरुको बाहुल्यता भएकै कारण पहिलो संविधानसभाबाट संविधान बनेन, २०७० सालको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएपछि मात्रै संविधान बन्न सफल भएको हो ।’

अहिलेको निर्वाचन भनेको केवल निर्वाचन मात्रै नभई साम्यवादी व्यवस्था ल्याउने की लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने भन्ने मूल कुरा भएको जोशीले वताए । उनले भने, ‘अहिले बाम एकताका नाममा दुई कम्युनिष्ट पार्टीहरु एक भएर चुनाव लडेका छन्, यसको अर्थ भनेको देशमा हाल कामय भएको संविधानलाई कार्यान्वयनमा नल्याई साम्यवादी व्यवस्था लागु गर्नु हो, एकदलीय तानाशाह शैली लाद्नु हो । जनताको अस्तित्वलाई स्वीकार नगर्नु हो । ’
आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा सबै नेपाली नागरिकहरुले नेपाली कांग्रेसलाई मत दिएर विजयी गराउनु पर्ने जोशीले उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेस भनेको २००३ सालदेखि नै नेपाली जनताको हीतमा क्रियाशील भएको पार्टी हो । विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेरले निर्माण गरेको पार्टी हो । राणा शासन र पञ्चायती शासन व्यवस्था फाल्न योगदान गरेको पार्टी हो । २०४६ सालको परिवर्तन नेपाली कांग्रेस कै नेतृत्वमा भएको हो । यति ठूलो क्रान्ति गर्दा पनि यो पार्टीले हत्या हिंसालाई कहिल्यै प्रोत्साहन गरेन । २०६२÷०६३ सालको परिवर्तनमा पनि नेपाली कांग्रेसले नै नेतृत्व गरेको हो । राजतन्त्र हटाउन नेपाली कांग्रेसले नै योगदान गरेको हो । माओवादीलाई जंगलबाट खुल्ला राजनीतिमा नेपाली कांग्रेसले नै ल्याएको हो । कांग्रेस सधै जनताको पक्षमा क्रियाशील रह्यो । लोकतान्त्रिक व्यवस्थाको पक्षमा लाग्यो । सार्वभौमसत्तामा मालिक जनता हो भन्दै जनताको अभिमतलाई कदर गर्ने शासन व्यवस्थाको पक्षमा लाग्यो ।’

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस ललितपुरको प्रचारप्रसार मूल समितिको संयोजक समेत रहेका जोशीले २०४८ सालदेखि २०६४ सालसम्म निरन्तर कम्युनिष्टहरुले जितेका कारण ललितपुरको विकास नभएको उल्लेख गरे । जोशीले भने, ‘ राजधानीसंग जोडिएको ललितपुर यति लामो समयसम्म अविकसित भएर रहनु पर्ने अवस्था नै थिएन । यो यहाँका ३ वटै निर्वाचन क्षेत्रबाट जितेका कम्युनिष्टका नेताहरु लाचार भएका कारण, स्वार्थी भएका कारण भएको हो । दलीय र व्यक्तिगत स्वार्थमा ललितपुरको विकासलाई बन्धक बनाएर राखेका हुन् ।’
२०७० सालमा ललितपुरका ३ वटै क्षेत्रमा नेपाली कांग्रेसले जितेपछि केही सुधारात्मक कामहरु भएको उल्लेख गर्दै फेरी पनि नेपाली कांग्रेसलाई नै विजयी गराएर विकास निर्माणको जिम्मेवारी सुम्पनु पर्ने उल्लेख गरे । जोशीले भने, ‘भूकम्पका कारण ललितपुरमा रहेका सांस्कृतिक सम्पदाहरुको तहसनहस भएको छ । कम्युनिष्टहरुले जिते भने १० वर्षसम्म पनि यी सम्पदाहरुको पूनर्निमाण हुन सक्दैन । ललितपुरका ग्रामिण क्षेत्रको विकास हुनै सक्दैन । तसर्थ नेपाली कांग्रेस नै अहिलेको आवश्यकताको पार्टी हो । नेपाली कांग्रेसले मात्रै सबै कामहरु सम्पन्न गर्न सक्छ ।’ ललितपुरका ३ वटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवारहरु तथा प्रदेशसभाका ६ वटै उम्मेदवारहरुलाई विजयी गराउन समेत आग्रह गरे ।

प्रतिनिधिसभा सदस्यका लागि ३ वटा क्षेत्र रहेको ललितपुरमा १ बाट वर्तमान अर्थराज्य मन्त्री उदय शम्शेर राणा, २ वाट चन्द्र महर्जन र ३ वाट ललितपुरका पाटी सभापति मदनबहादुर अमात्य चुनावी मैदानमा छन् ।
प्रदेशसभा सदस्यका लागि ललितपुर क्षेत्र नं. १ को (क) मा ऋषिराम घिमिरे, (ख) मा मीनकृष्ण महर्जन, २ को (क) मा पवनबिक्रम थापा, (ख) मा प्रेमकृष्ण महर्जन, ३ को (क) मा नवराज महत र (ख) मा शिवराम बाँनियाँ उम्मेदवार रहेका छन् ।

गत बैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बागमती गाउँपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाको नेतृत्व हत्याउन सफल भएको थियो ।