ललितपुर, मंसिर ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसार क्रियाकलाप ह्वात्तै बढेर गएको छ । निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
निर्वाचन आयोगले पर्चा पम्प्लेट टिसर्ट टोपी जस्ता बस्तु प्रयोगमा बन्देज लगाएपछि पार्टीहरुले नयाँ तरिका अपनाउन थालेका छन् । सामाजिक संजालमा भिडियो प्रसारण गर्ने गीतको माध्यमबाट प्रचारप्रसार अगाडि बढाउने तथा आफूले हालसम्म गरेका काम र भावी योजना राखेर अपिल तयार पारी जनता माझ पुर्याउन लागिपरेका छन् ।
यसैक्रममा संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर एकबाट विजय हासिल गरेका नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले हालसम्म भए गरेका काम र भावी योजना राखेर अपिल प्रकाशन गरेका छन् । ललितपुरको विकट क्षेत्र मानिने क्षेत्र नं १ का जनताले आफूलाई संविधान बनाउन पठाएको र संविधान निर्माणसँगसँगै आफुले यस क्षेत्रलाई विकासको मुल फुटाएको नेता राणा बताउँछन् ।
संविधान निर्माणसँगै विकास पनि गरेको र २५ वर्ष यस क्षेत्रमा अन्य पार्टीले केही गर्न नसकेको काम आफुले गरेर देखाएको बताएका छन् । राणा केही समय अगाडिमात्र नेपाल सरकारको अर्थ राज्यमन्त्री भइसकेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उदयशमशेर राणा प्रदेश सभाको (क)तर्फ ऋषिराम घिमिरे प्रदेशमा (ख)तर्फ मीनकृष्ण महर्जन चुनावी मैदानमा छन् । त्यस्तै समानुपातिक तर्फ वाम गठबन्धले कुनै उम्मेदवार नउठाएपनि नेपाली कांग्रेसले भने ललितपुर भारदेउ निवासी सानुकान्छा मोक्तानलाई समानुपातिकतर्फ प्रतिनिधित्व गर्न उमेरद्वारी बनाएको छ ।
ललितपुरलाई अझ समृद्ध बनाउन सडक, स्वास्थ्य, शिक्षा, पर्यटन, धार्मिक क्षेत्रको विकासका लागि हामीलाई विश्वास गर्न भन्दै नेपाली काँग्रेसका उम्मेदवार घरदैलो गरिरहेका छन् । यस क्षेत्रको मुहार फेर्न नेपाली कांग्रेसले मात्र सम्भव भएको भन्दै नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विश्वास गर्न जनतामाझ आग्रह गरेका छन् । क्षेत्रनम्बर १ कांग्रेसले २०७० सालको निर्वाचनमा विजय हासिल गरेपछि यस क्षेत्रमा गरेका मुख्य विकासका काम र र भावी गर्ने योजनाहरु तयार पारी अपिल प्रकाशनमा ल्याएको छ ।