विराटनगरको विकासका लागि काँग्रेसको जित आवश्यक : शेखर

मोरङ, मंसिर १२ । विराटनगरलाई प्रादेशिक राजधानी बनाउन र त्यसको सर्वाङ्गिण विकास गर्न नेपाली काँग्रेसको पक्षमा मतदान गर्न नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले आग्रह गरेका छन् ।

मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा कोइरालाले सोमबार साँझ मोरङको बूढीगंगा गाउँपालिकामा ट्रेड युनियन मोरङले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने, क्षेत्र नं ६ मा खानेपानीको आपूर्ति सुलभ गर्ने र ढल निकास खोल्ने लगायतका आफ्ना कार्यक्रम रहेको जानकारी गराएका छन् । समग्र विराटनगरको विकास गर्न काँग्रेसलाई जिताउन आवश्यक रहेको बताउँदै उनले पहिचान, पहुँच र प्रतिनिधित्वका लागि काँग्रेसको पक्षमा मतदान गर्न अनुरोध गरेका छन् ।

डा कोइरालाले काँग्रेसले मात्र हिमाल, पहाड, तराई र मधेशका समस्यालाई सहज रुपमा समाधान गर्ने दाबी गर्दै लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउन अपरिहार्य रहेको बताएका छन् । उनले बूढीगंगालाई नमूना नगरपालिका र विराटनगरलाई प्रादेशिक राजधानी बनाउने प्रतिबद्धता जाहेर गर्दै कांग्रेसलाई नै भोट दिन अनुरोध गरेका छन् । संविधान संशोधन देखि कार्यान्वयनसम्म र समृद्ध नेपाल बनाउन कांग्रेसले मात्र सक्ने भएकाले कांग्रेसको विकल्प जनताले नखोज्नुपर्ने उनले बताएका छन् ।