उदयपुर, मंसिर १२ । नेपाली काँग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित घरमा अज्ञात समूहले बम विष्फोट गराएका छन् ।
आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर घरमा बम राख्न लागेको बेला आफ्नै बुबाले देखेपछि ती समूह बम फालेर भाग्दा विष्फोट भएको उम्मेदवार कार्कीले बताएका छन् । बम विष्फोटनबाट कार्कीको गोठमा रहेको एक भैँसी र गाई घाइते भएपनि मानवीय क्षति भने नभएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर अध्ययन गर्दा रेडबुलको बट्टालाई बम बनाएर पड्कीएको अवस्थामा भेटिएको बताइएको छ । अहिले बम पड्काउने शंकास्पद व्यक्ति र लुक्ने क्षेत्रमा सम्भावित सम्बन्धित व्यक्तिको खोजी कार्य तीव्र रुपमा भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधि गर्नेको खोजी गर्ने क्रममा प्रहरीले हालसम्ममा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिष्ट पार्टीमा आबद्ध जिल्ला सदस्य विष्णु कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राई पनि पक्राउ परेको प्रहरी उपरीक्षक भट्टले जानकारी गराए ।