काठमाडौँ, मंसिर १४ । नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण गरेको बताउँदै त्यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा मनपरी गरेको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम नगर्न एमालेको अनुरोध छ ।
कमिटीका प्रवक्ता विष्णु रिमालले जारी विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोग समक्ष माग गरेका छन् । साथै शृङ्खलाबद्ध रुपमा देशभर भएका हिंसात्मक घटना, आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ ।