बाजुरा, मंसिर १५ । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष नाघिसक्दा पनि भवन निर्माण कार्य पुरा हुन सकेको छैन ।
समयमा निर्माणको कार्य नहँुदा बिरामीको उपचारमा समस्या हुने गरेको छ । समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव छ । विसं २०६८ मा निर्माण थालिएको उक्त भवन ६ वर्ष लागिसक्दा पनि काम सम्पन्न नभएको स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले बताए ।
दीपायलस्थित भवन तथा सहकारी डिभिजिन कार्यालयको आर्थिक सहयोगमा रू एक करोड भन्दा बढी लगानीमा स्वास्थ्य चौकी निर्माणका लागि सम्झौता गरिएको थियो । डडेल्धुरा जिल्लाको प्रसुराम नगरपालिका प्रमुखमा निर्वाचित भीमबहादुर साउँदको नाममा रहेको राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको तर समयमै भवन निर्माण गर्न नसक्दा बिरामीको उपचार सेवामा कठिनाई हुने गरेको अहेव यादवको भनाई छ ।
भवन निर्माण गर्ने मजदुरले ज्याला पनि पाएको छैन, ठेकेदार पनि सम्पर्कमा नआएपछि स्वास्थ्य व्यवस्थापन समितिले यसबारे पटक पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए ।