कञ्चनपुर, मंसिर १५ । महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको डिजाइन परिवर्तन गर्ने कुरा बाम गठबन्धनको स्थानिय घोषणापत्रमा लेखाएर कञ्चनपुर क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार दीपकप्रकाश भट्टलाई हराउन स्वयं एमालेका माधव नेपाल र केपी ओली समूह नै लागेको रहस्य खुलेको छ ।
पुलकोडिजाइन नै परिवर्तन गर्ने कुरा घोषणा पत्रमा लेख्न लगाउने र मतदाता माझ यो कुरा लगेर माहौल भट्टको विपरित सिर्जना गरेर कञ्चनपुरबाट उनको पत्तासाफ गर्न नेपाल र ओली पक्ष न्वरान देखिको बल लगाई केंद्रीय नेता देखि स्थानीय कार्यकर्तासम्म ज्यान छोडेर हराउँ अभियानमा जुटेका छन । भट्ट माधव नेपाल पक्षका भए पनि कञ्चनपुरका नेपाल पक्षिय नेताहरुले उनको उम्मेदवारीलाई सहज रुपमा लिन सकेका छैनन् । भट्टलाई टूरिष्ट उम्मेदवारको संज्ञा दिइरहेका एमाले स्थानिय नेताहरु कुनै पनि हालतमा उनलाई जित्न नदिने अभियानमा लागेका छन् ।
भट्टलेजिल्ला स्तरमा काम गरेर जनताको सुखदुखमा साथ नदिएर सिधै माथिबाट टिकट ल्याएर आएको आक्रोस स्थानिय नेताहरुलाई छ । भट्टको उम्मेदवारी प्रति माधव नेपाल पक्षिय पुर्व पत्रकार र प्रदेश सभाका आकांक्षी खेम भण्डारी लगायतको समूह समेत सन्तुष्ट हुन सकेको छैन् । भण्डारीकै सल्लाहमा पुलको डिजाइन परिवर्तन गर्ने कुरा उठाउने र त्यसबाट उत्पन्न विवादले भट्टलाई हराउने योजना बनेको एमाले स्रोतले बताएको छ । भट्टलाई कार्यकर्ता नचिन्ने, मतदाता नचिन्ने, भूगोल नै थाहा नभएको र जिल्लामा कुनै योगदान नै नदिएको व्यक्तिलाई टिकट दिएको भन्दै स्थानिय नेता नेतृत्व प्रति पनि सन्तुष्ट छैनन् । त्यसैगरि केपी ओली पक्षिय नेत्री निरु पाल लगायतका नेता तथा कार्यक्रता समेत भट्टलाई भित्री रुपले हराउने कसरतमा लागेका छन् । पुलको डिजाइन परिवर्तन गर्ने कुराको विपक्षमा स्वयं एमाले नेताहरुले समाजिक संजाल मार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।
बाम गठबन्धनका साझ उम्मेदवार भनिए पनि कञ्चनपुरका सम्पूर्ण एमाओवादी नेता तथा कार्यकर्ता क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार विना मगरलाई जिताउन उतै खटिएपछि भट्ट सानो समूहका साथ प्रचार प्रसारमा जाने गरेका छन् । ८७ हजार दुई सय मतदाता रहेका क्षेत्र नम्बर ३ को जित हारको निर्णायक हुने दोधरा चाँदनीका मतदाता पुलको डिजाइन परिवर्तन गर्ने एमालेको लिखित घोषणा पछि तर्सिएका छन् । बल्ल बल्ल नेपाली कांग्रेसका नेता एवं त्यस क्षेत्रका सभासद् रमेश लेखकको प्रयासमा ३ अर्ब रुपैयाको लागतमा बन्न लागेको चार लेनको पक्की पुल कतै डिजाइन विवादकै कारण नबन्ने त होइन भन्ने दुविधा दोधरा चादँनीबासीमा छ । महाकाली नगरपालिका ७ का कालुराम भट्टले भने, ‘ बर्षौदेखिको सपना बल्ल पुरा होला कि भन्ने लागेको छ । त्यसमा पनि भाजो हाल्नेलाई हामी मतदान त के नाम लिन पनि चाहदैनौ । ҆ पार्टीबाट र मतदाता दुबै पक्षबाट साथ नपाएपछि भट्ट घरका न घाटका भएका छन् । आफ्नो पनि पुर्खैउनी घर बैतडी भएकाले केही मत त्यसका आधारमा पाउने आशा गरेका भट्टलाई त्यसमा पनि सफलता पाउने अवस्था नरेहेको स्थानियवासी बताउँछन् ।
क्षेत्र नम्बर ३ मा बसोबास गर्ने पुर्खेउली बैतडी भएका अधिकांश परिवारले भट्टलाई चिन्दैनन् । उनी नेताहरु भन्ने कुरा थोरैलाई मात्र थाहा छ । यसको सबै फाइदा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकलाई हुने स्थानियवासी बताउछन् । भिमदत्तनगर पालिका ६ का गरिमा मल्लले भनिन, ‘ नामै नसुनेका नेताले हाम्रो विकास गर्लान भन्ने कुनै विश्वास नै छैन ।