धनुषामा कांग्रेसको जीत निश्चित छ : निधि

धनुषा, मंसिर १५ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेशी जनताको राजनीतिक अधिकार र विकासका लागि काँग्रेसको विकल्प नरहेको बताएका छन् ।
जनकपुरको मिल्स एरियास्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरी धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका निधिले विगतमा आफूले गरेको कामको मूल्यांकन गरेर जनता आफ्नो पक्षमा रहेको उल्लेख गर्दै आफू यस क्षेत्रबाट अत्यधिक मतले विजयी हुने विश्वास व्यक्त गरे ।

जनतालेआफूलाई जिताएर पठाउँदा धनुषा जिल्लाका गाउँगाउँ र जनकपुरको गल्लीगल्लीमा सडक बनाएको, राजर्षि जनक विश्वविद्यालय बन्ने वातावरण बनाएको बताउँदै निधिले अहिले जटहीदेखि ढल्केवरसम्मको छ लेन सडक निर्माण जस्ता उल्लेखनीय विकास निर्माणका काम गरेको हुँदा यस क्षेत्रका जनताले भारी मत अन्तरले आफूलाई  विजयी गराउने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो हावामा उड्ने’ नेता भएको टिप्पणी गर्दै मधेसका जनताले काँग्रेसलाई नै भोट  दिने बताए । मधेसका हरेक समस्या काँग्रेस मात्र समाधान गर्न सक्ने भएका ले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न  अनुरोध गरे । धनुषा जिल्लामा काँग्रेस को जीत सुनिश्चित रहेको बताउँदै जनताको साथ र सहयोगको मूल्याङ्कन गरी अघि बढ्ने बताएका छन् ।