काँग्रेसले बहुमत ल्याउँछ : संयोजक खाँण

काठमाडौँ, मंसिर १७ । दोश्रो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने नेपाली काँग्रेसले बताएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्नका लागि जनताले काँग्रेसलाई बहुमत दिएर जिताउने बताएको हो । उक्त सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एक ढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले काँग्रेसले बहुमत ल्याएर जित्ने बताए ।

दोस्रो चरणमा हुन लागेको १२८ प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस ७० स्थानमा अगाडि रहेको उनको भनाई छ । उनले शान्ति, स्थिरता र लोकतान्त्रिक शासन व्यवस्था काँग्रेसको प्रमुख लक्ष्य भएकाले यसलाई बलियो बनाउनका लागि पनि जनताले काँग्रेसलाई विश्वास गर्ने बताए । संविधानमा भएका मूलभूत कुरालाई उल्टाउने तथा एकदलीय शासन व्यवस्था लागू गर्ने मनसायका साथ वाम गठबन्धन भएको भन्दै संयोजक खाँणले बहुदलीय व्यवस्थाको रक्षा र राष्ट्रियताको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक भएको बताए ।

संयोजक खाँणले २१ गते निर्वाचन हुन लागेका सबै जिल्लाका सबै मतदानस्थलमा पार्टीले स्वयंसेवक खटाइसकेको जानकारी गराउँदै निर्वाचनमा खटिएका प्रतिनिधि, स्वयंसेवक, कर्मचारीको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । उनले काँग्रेसको सरकारका पालामा मुलुकले पूर्वाधार विकासमा ठूलो फड्को मारेको भन्दै संविधान कार्यान्वयन र आर्थिक विकास काँग्रेसबाट मात्र सम्भव भएको प्रस्ट्याएका छन् ।