नेवारी संस्कृतिको जगेर्ना गर्न सहयोग आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ, मंसिर १७ । काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको पहिचानका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोगको आवश्यकता परेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

ज्यापू संस्कृति विकास कोषद्वारा आयोजित १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा बोल्दै उनले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताएकी छिन् । कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी रहेको राष्ट्रपति भण्डारीले बताइन् । भूकम्पका कारण क्षतिग्रस्त भएका काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार र विशेष गरी ज्यापू समुदाय सफल हुने कुरामा राष्ट्रपति भण्डारीको विश्वास छ ।

आधुनिकीकरणले नेपालको मौलिक कलासंस्कृति क्रमशः छायाँमा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिथितिको संरक्षण तथा जगेर्नामा कुनै पनि कञ्जुस्याइँ नगर्न अनुरोध गरेकी छिन् । स्थानीय तहको निर्वाचन सकिए लगत्तै पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास व्यक्त गर्दै अब मुलुक राजनीतिक स्थायित्वसहित आर्थिक विकासको चरणमा प्रवेश गर्ने राष्ट्रपति भण्डारीको भनाई छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गरेकी थिइन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै थालेको बताए ।

राष्ट्रिय ज्यापू दिवस मूल समारोह समितिका संयोजक मंगलकृष्ण महर्जनले नेपाली मौलिक पहिचानसँग जोडिएको नेवारी संस्कृतिको संरक्षण र रक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा ज्यापू समुदायको संस्कृतिसँग जोडिएको मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीको समेत प्रदर्शनी गरिएको थियो ।