काठमाडौँ, मंसिर १८ । मुलुकमा आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिएर जिताउन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले जनतासँग अनुरोध गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा बालाजुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी जनतालाई आर्थिक पहुँच विस्तार गर्न विभिन्न योजना र दृष्टिकोण लोकतान्त्रिक शक्तिसँग मात्र भएको दावी गरे । देशमा वैदिक सनातन हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्ने पार्टीको सिद्धान्तलाई कार्यान्वयन गर्न निर्वाचनमा जनताले सो गठबन्धनलाई जिताउन खाँचो रहेको उनले प्रस्ट पारे ।
विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गरी देशमा सामाजिक रुपान्तरणका लागि लोकतान्त्रिक गठबन्धनलाई जनताले विश्वास गरी मतदान गर्नुपर्नेमा मन्त्री थापाले जोड छ । उक्त क्षेत्रको ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उनीहरूले प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले सो रकम चाँडो उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्रदेश ९१०का उम्मेदवार विजयबहादुर मालीले स्थानीय पूर्वाधार विकास तथा निर्माणमा तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाबीच समन्वय र सहयोगको आवश्यकता रहेको विचार व्यक्त गरे । प्रदेश ९२० का उम्मेदवार धर्मराज अर्यालले स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्मको सडक स्तरोन्नति, आठ माइल डाडागाउँको विकास गरी पर्यटन क्षेत्र विकास गर्नेलगायत कार्य प्राथमिकतामा रहेको बताए ।