काठमाडौँ, मंसिर १९ । दोश्रो चरणको निर्वाचन नजिकिए सँगै निर्वाचन सुरक्षाका लागि जनशक्ति खटाउँदा काठमाडौँ उपत्यकामा पर्याप्त जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।
२१ गतेको दोश्रो चरणको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ट्राफिक प्रहरीहरुलाई महाशाखा काठमाडौँ, भक्तपुर, ललितपुर, रुपन्देही, नवलपरासी, महोत्तरी, धनुषा र काभ्रेपलाञ्चोक खटाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिन थालेको हो ।
महाशाखामा रहेका एक हजार ३२२ जनशक्तिमध्ये ९५० जनशक्ति निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यकामा हाल १० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहेका छन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल जनशक्तिको अभाव हुँदा पनि काठमाडौँको ट्राफिक व्यवस्थापनमा कमी हुन नदिइएको बताएका छन् । उनले भने– व्यवस्थापनका कमी आउन नदिनका लागि म आफैँ अफिस जाने आउने व्यस्त समयमा सडकमा खटिरहेको छु ।