मंसिर २३ गतेदेखि राष्ट्रिय महाभेला हुने

काठमाडौँ, मंसिर १९ । मंसिर २३ देखि २५ गतेसम्म ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना गरिने भएको छ ।

डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघमा हुने सो महाभेला ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार : युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महाभेला संयोजक लिली थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुलुकमा मानव अधिकारको अवस्था कस्तो छ, नयाँ संरचना अनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागी संघ संस्थाका प्रतिनिधिबीच छलफल गरिने बताए । थापाले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि युवा तथा महिलाको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा केही नियम नबनेको र केही राजनीतिक दलले लागू नगरेको जस्ता समस्या देखिएकाले सबै तहबाट सहयोगको अपेक्षा गरे ।

आठौँ मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक एवं अधिकारकर्मी सुनी लामाले मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समय सापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पुर्याउन खोजे पनि केही प्राविधिक कारणले संविधानका यी प्रावधान प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता प्रकट गरे ।

विगत आठ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले संयुक्त रुपमा आयोजना गर्दै आएको सो महाभेला यस वर्ष न्याय र लोकतन्तत्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुने भएको छ ।