मुलुकका हरेक परिवर्तन र विकासका लागि काँग्रेसको सान्दर्भिकता झनै बढेको : खाँड

काठमाडौँ, मंसिर २६ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको पक्षमा अनपेक्षित परिणाम आएपछि त्यसको विषयमा अनेकौ चर्चा हुन थालेको छ ।

यही मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनबाट काँग्रेसको पक्षमा प्राप्त मत गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला । पार्टी हार्नुको कारण मुख्य रुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको काँग्रेस नेताहरु आँकलन गर्न थालेका छन् । कुल १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा काँग्रेसले अन्तिम नजितासम्म २१ सिटमा मात्र जित हासिल गरेको छ भने पार्टीका केही हस्तीहरुले हार बेहोरेका छन् । पराजित हुनुमा वाम गठबन्धन बाहेक नाम मात्रको लोकतान्त्रिक गठबन्धन निर्माण, पार्टीभित्रको गुटबन्दी र अन्तरघात, प्रभावकारी चुनावी मुद्दा नहुनु, काँग्रेस नेतृत्वमा भएका राम्रा काम जनतालाई बुझाउन नसक्नुलगायत कारण बारेमा पार्टीमा बहस हुन थालेको छ ।

काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टीका नेता बालकृष्ण खाँणले २०७० सालको निर्वाचनमा दोस्रो र तेस्रो दलका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेपछि वाम गठबन्धनको पक्षमा बढी मत देखिएको बताए । दुई दलको भोट मिलेर बाम अगाडि आउन सफल भएको र तटस्थ भोटलाई ठूलो संख्यामा हामीले आकर्षित गर्न सकेनौँ, उनीहरुले आफ्ना भोटलाई सुरक्षित गर्न सके र आफ्नो पक्षमा परिणाम ल्याउन सफल भएको उनको भनाई छ । यद्यपि समानुपातिकतर्फको मत भने काँग्रेसको मत प्रत्यक्षजस्तो कम देखिँदैन ।

काँग्रेसले राष्ट्रिय राजनीतिमा हालसम्म खेल्दै आएको भूमिकाका कारण आम मतदातालाई सोही अनुसारको अपिल हुन्छ भन्ने भरोसा रहेको तर परिणाम भने २०६४ सालको संविधानसभा निर्वाचनजस्तै आएको उनको टिप्पणी छ । काँग्रेसले स्थापनाकालदेखि नै मुलुकका हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व गर्दै आएको उनी बताउँछन् । विसं २००७ मा राणा शासनको अन्त्य, २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना, २०६२/०६३ सालको शान्तिपूर्ण जनआन्दोलन र गणतन्त्र स्थापना, नेपालको संविधान जारी गरी मुलुकमा पहिलो पटक संघीय संरचना अनुसारको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै नेता खाँणले मुलुकका हरेक परिवर्तन र विकासका लागि काँग्रेसको सान्दर्भिकता झनै बढेको बताए ।

अब काँग्रेस प्रतिपक्षमा बस्छ, शान्ति र समृद्धि र संविधान कार्यान्वयनमा पार्टीको रचनात्मक सहयोग रहने उनी बताउँछन् । तर कसैले संविधानमा आमूल परिवर्तन गर्ने, राजनीतिक व्यवस्था परिवर्तन गर्ने र ५० वर्षसम्म कम्युनिष्ट शासन चलाउँछाँै भन्यो भने त्यस विरुद्ध शान्तिपूर्ण रुपमा पार्टी पंक्ति र जनता परिचालन गर्छौं । कतिपय नेता भने पार्टीभित्रका विकृति र आन्तरिक कलहलाई पराजित हुनुको मुख्य कारण ठान्छन् । पार्टीका एक पुराना नेता तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचनमा पुनः उम्मेदवारी दिन लगाउनु नै गल्ती भएको उनको भनाई छ । प्रमुख दलबीचको सहमति त्यही बेलादेखि टुटेको र परिणाम स्वरुप वाम गठबन्धन बनेको उनको तर्क छ ।

पार्टीका युवा नेता विश्वप्रकाश शर्मा पनि निर्वाचनको मुखमा दुई ठूला कम्युनिष्ट दलबीच भएको वाम गठबन्धन नै पार्टी पराजयको प्रमुख कारण भएको ठान्छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो र तेस्रो बनेका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा काँग्रेसले अपेक्षा गरे अनुसार परिणाम आउने त कुरै भएन– नेता शर्माले भने । यसबाहेक काँग्रेसले आफ्नो नेतृत्वमा गरेका राम्रा काम जनतासमक्ष पु¥याउन नसक्नु, शान्ति स्थापना र संविधान निर्माणमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका जानकारी गराउन नसक्नु कमजोरी भएको उनी स्वीकार्छन् ।

काँग्रेसले ठूलो आन्दोलन भएको मधेशका दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउनु र आदिवासी÷जनजाति, मधेश, पिछडिएका समुदायका माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव ल्याएको लगायतका विषय आममतदाता समक्ष पु¥याउन नसक्नु पनि निर्वाचनमा हारको कारण रहेको उनको भनाई छ । पार्टीको संगठन कमजोर भएका कारण उपरोक्त काम गर्न नसकिएको बताउँदै नेता शर्मा प्रहरी महानिरीक्षक प्रकरण र प्रधान न्यायाधीश विरुद्धको महाअभियोग पनि पार्टी पराजयको कारण हुनसक्ने उनको आँकलन छ । तत्काल केन्द्रीय समितिको बैठक बोलाई यसबारेमा गम्भीर समीक्षा गर्नुपर्ने उनको माग छ ।