सुनसरी, मंसिर २७ । नेपाली काँग्रेसका हस्तीहरुले सबैतिर हारिरहेका बेला झिनो आस बोकेर मैदानमा होमिएका विजय कुमार गच्छदारले छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका विजयी भएका छन् ।
आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उनले विजयी हाँसिल गरेका छन् । शुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी हाँसिल गरेका हुन् । समग्र जनताको ध्यान सुनसरी ३ तिरनै थियो । मत गणनामा भएका बाधा अड्चन र कडा प्रतिस्पर्धाले झन जनताको चासो थपिएको थियो । सुनसरीबाट निरन्तर आफ्नो जीत यात्रालाई कायम राख्न सफल भएका गच्छ दार प्रनिनिधिसभातर्फको यस निर्वाचनमा ३८ हजार ९७२ मत ल्याउन सफल भए भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् ।
विसं २०४८ देखि सुनसरीबाट चुनाव लड्दै आएका गच्छदार नेपालको राजनीतिमा सबैभन्दा शक्तीशाली थारू समुदायको नेताका रुपमा चिनिन्छन् । तीनपटक काँग्रेसबाटै जित हाँसिल गरेका उनले दुई पटक फोरमबाट र यसपालिको चुनावमा फेरि काँग्रेसबाटै जीत हासिल गर्न सफल भए । गच्छदारले अघिल्ःलो निर्वाचनमा पनि झीनो मतान्तरले चौधरीलाई पछाडि पार्दै आफ्नो अविजित यात्रालाई कायम गर्न सफल भएका थिए ।
जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका गच्छदार जनताले पत्याउने नेताका रुपमा परिचित छन् । उनको जितले समग्र नेपाली काँग्रेसमा थोरै मात्रा भए पनि हौसाला थपिदिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेताहरुले हार बेहोरि रहेका बेला भर्खरै मात्र कांग्रेस प्रवेश गरेका गच्छदारको नतिजा कस्तो आउने हो भन्ने सबैको चासोको विषय बन्न पुगेको थियो भने , देशभरि जितिरहेका कम्यूनिष्ट गटबन्धन आफ्नै पक्षमा नतिजा आउनेमा ढुक्क थिए । अन्ततः चौधरीका लागि गच्छदार भारि बन्न पुगे ।