हामी खण्डित हुने होइन एकीकृत हुनुपर्छ : महामन्त्री कोइराला

प्रतिनीधि सभा र प्रदेशसभामा नेपाली कांग्रेसले समग्र प्राप्त गरेको नतीजा र नेतृत्व तहमा उठेको प्रश्न नेपाली काँग्रेसका लागि चुनौतिपूर्ण देखिन्छ । सोही चुनौति र प्रश्न माथि प्रष्ट पार्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको स्पष्ट पारेका छन् । अहिलेको अवस्थामा हामी खण्डित हुने होइन एकीकृत, एक ढिक्का भई अगाडी बढ्नु पर्ने अवस्था आएको छ कोइरालाले भने ।

केन्द्रमा बृहत छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने बताउँदै, नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गर्ने, त्रुटि हेरिने त्यसपछि मात्रै के गर्ने भन्ने निष्कर्ष निस्कन्छ उनले भने । कोइरालाले अहिलेको समयमा परामर्श र छलफल गर्नुपर्ने साथै काँग्रेस शुद्धीकरण अभियान चलाउनु पर्ने प्रष्ट पारे । पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको बताउँदै उनले भने, अब केन्द्रीय समितिमा छलफल हुन्छ त्यसपछि संगठनलाई चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । पार्टीको परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो उनले प्रष्ट पारे । क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिएको बताउँदै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको स्पष्ट पारेका छन् । हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको प्रष्ट पार्दै उनले भने हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको हो । हारका कारण हतास हुन नपर्ने बताउँदै हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे काँग्रेसको भविष्य उज्ज्वल छ , महामन्त्री कोइरालाले भने । काँग्रेस समाप्त नभएको बताउँदै गुटको अन्त्य गरेर काँग्रेस सच्चिनका लागि अन्तिम मौका जनताले दिएको कोइरालाले प्रष्ट पारे । अहिले काँग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको बताउँदै उनले ७० वर्षको इतिहास बोकेको काँग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताएका छन् ।

भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको काँग्रेस आई को जस्तो नहोस भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएको कोइरालाले बताए । भारत र चीन दुवै देशसँगको सम्बन्ध बिपी कोइरालाले स्थापित गरेको भन्दै उनले आगामी दिनमा काँग्रेसले दुवै देशसँगको सम्बन्ध अरू सुमधुर बनाउने बताए । काँग्रेस पहिलेदेखि नै समाजवादी चिन्तन भएको स्पष्ट पार्दै समाजवादी चिन्तनबाट हिँड्दा मात्रै देशको भविष्य बन्ने उनले बताए । नेपाली काँग्रेस रहेसम्म लोकतन्त्र र समाजवाद जीवित रहने महामन्त्री कोइरालाको भनाई थियो ।