‘कृ’ र ‘कान्छी’ एकसाथ नभिड्ने

नेपाली चलचित्र निर्माण र प्रदर्शनमा होड बाजी चल्नु नयाँ कुरा होइन । नेपाली चलचित्र क्षेत्रमा एकले अर्कालाई होच्याउनु सामान्यनै मानिन्छ । यस वर्षको सबैभन्दा ठूलो महासंग्राम माघ २६ गते हुने देखिन्थ्यो । कारण, यो मितिमा युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ र श्वेता खड्का र दयाहाङ राई स्टारर फिल्म ‘कान्छी’ एकसाथ लडाइँ गर्दैथिए । हुनत, सबैभन्दा अगाडि ‘कान्छी’ले माघ २६ ताक्दै प्रदर्शन मिति घोषणा गरेको थियो तर ‘कृ’ पनि यही मितिमा लड्न तयार भएपछि निर्माताहरुबीच द्वन्द बढेको थियो ।

अनमोल केसीको बढ्दो लोकप्रियताका कारण ‘कृ’ यूनिट माघ २६ बाट हट्ने कुनै छाँटकाट नदेखिएपछि ‘कान्छी’ आफैं एकसाता पछाडि सरेको छ । सोमवार वितरक र निर्माताबीचको छलफलबाट ‘कान्छी’लाई फागुन ४ गते प्रदर्शनमा ल्याउने निर्णय गरिएको छ । अब ‘कृ’ले माघ २६ गते सोलो रिलिजको मौका पाएको छ ।

‘कृ’का लागि बाटो खाली गरेपछि नायिका तथा निर्मात्री श्वेता खड्काले ‘कान्छी’को मिति सार्नु भनेको आफू हार्नु नभएको भन्दै फेसबुकमा एक स्टाटस लेखेकी छिन् । ‘यो त भुवनदाजु प्रति एउटी बहिनीको सम्मान हो ।’ उनले फेसबुकमा लेखेकी छिन् । ‘कृ’लाई सुवास गिरी र नायक भुवन केसीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

‘कान्छी’, ‘कृ’सँग जुध्न डराएको भन्ने बहस चर्किदै गएपछि श्वेताले दुवै फिल्मको दर्शकले व्यग्र प्रतिक्षा गरेका कारण एकसाथ प्रदर्शन गर्नु राम्रो नहुने भन्दै आफू नै पछाडि सरेको स्पष्ट पारेकी छिन् । चलचित्र निर्माण गर्न र प्रदर्शन गर्न जति सहज हुन्छ त्यति नै गाह्रो दर्शकको मन जित्न हुन्छ । नेपाली चलचित्र क्षेत्रमा रुचाइएका नायक अनमोल केसी र लामो समय पछि चलचित्र क्षेत्रमा कम ब्याक गरेकी न ायीका श्वेता खड्काको चलचित्र हेर्नका लागि दर्शक निकै आतुर रहेक पनि यी दुई चलचित्रले कस्तो व्यापार गर्छन् त्यो चाँही प्रदर्शन पछि मात्र थाहा होला ।