काठमाडौँ, मंसिर २८ । आज भएको एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।
थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानमारलाई पछि पार्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले चार÷चार विकेट लिए । जोशीले तीन ओभरमा दुई मेडन राखि मात्र एक रन खर्चे ।
थापाले तीन ओभरमा चार रन मात्र दिए । विशाल विक्रम केसीले एक विकेट लिए । ब्याटिङतर्फ म्यानमारका हियन अयुङले सर्वाधिक ३ रन बनाए । नेपालका कप्तान रित गौतम र तृतराज दासले ९९ रनको साझेदारी गरे । गौतम ७८ बलमा १२ चौकाको सहयोगमामा अविजित १०६ रन जोड्न सफल भए ।
दासले २९ बलमा तीन छक्का र सात चौका प्रहार गरी ६४ रन बनाए । विशाल विक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको योगदान दिए ।
नेपालले यसअघि थाइल्याण्डलाई पहिलो खेलमा १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई चार विकेटले पराजित गरेको थियो ।