पार्टीभित्रकै व्यक्तिका कारण हार बेहोर्नु परेको : नेता सिंह

काठमाडौँ, मंसिर २९ । प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु भनेको दुःखद कुरा रहेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ द्वारा आनन्द इभेन्टमा आयोजित ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा बोल्दै उनले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा आउन नसक्नु दुःखद कुरा भएको बताए । देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्ने कुरामा जोड दिए ।

पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले हार बेहोनु परेको भन्दै नेता सिंहले पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्र्ने बताए । काठमाडौँमा काँग्रेसको पक्षमा चित्तबुझ्दो नतिजा नआएको उनको भनाइ थियो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बनेका नेता सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौँ क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहिरहने बताए । नेता सिंहले तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएको भन्दै मतदातालाई धन्यवादसमेत दिएका छन् ।

पूर्व उपप्रधानमन्त्री सिंहले संसद्मा आफ्नो राम्रो सिट नआएको भन्दै सरकार र संसद्ले गरेका राम्रो कामलाई समर्थन गर्दै नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यस्तै संस्कारको विकास गरिनुपर्ने उनको भनाई छ ।