काठमाडौँ, मंसिर २८ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत संरचनामै सुधार गरिनुपर्ने आवश्यकता रहेको बताइएको छ ।
आप्रवासन दिवसको अवसरमा पिपुल फोरमद्वारा आयोजित सुरक्षित वैदेशिक रोजगारी विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले आप्रवासी कामदारको सुरक्षित गन्तब्य प्रवद्र्धनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि नीतिगत सुधारदेखि चेतना अभिवृद्धिका अभियानलाई प्रभावकारी बनाइनुपर्ने फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलले बताए ।
सरकारले वैदेशिक रोजगार ऐन संशोधनको तयारी गरेको र अहिले श्रम मन्त्रालयबाट प्राविधिक रायको लागि कानून मन्त्रालयमा पुगेको जानकारी गराउँदै उनले यसले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । अधिवक्ता नरेन्द्र खनालले वैदेशिक रोजगारीका लागि जाने कामदारलाई कसरी सुरक्षित बनाउने भन्नेबारे ग्रामीण तहसम्म सचेतनात्मक कार्यक्रम लैजानुपर्ने आवश्यकता रहेको बताए । पत्रकार सुनिल न्यौपानेले ‘सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारीका बिकृतजन्य विषय मात्र नभई राज्य र सरोकार भएका निकायको ध्यान खिच्ने गरी कामदारको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गनुपर्ने कुरामा जोड दिए ।
श्रम स्वीकृति लिएर जानेको संख्या हाल ५० लाख रहेको छ । राष्ट्रिय योजना आयोगका पछिल्लो विवरण अनुसार वैदेशिक रोजगारीका लागि नेपालबाट वार्षिक पाँच लाखको हाराहारीमा जाने गरेका छन् ।