दिगो विकासमा नागरिकको प्रत्यक्ष सहभागिताको खाँचो : प्रमुख शाक्य

काठमाडौँ, मंसिर २९ । दिगो विकास नागरिकको सहभागिताले मात्र सम्भव हुन सक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

२३ औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिकको सहभागितामा मात्र सोचे अनुसारको विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको खाँचो रहेको बताएका हुन् । महानगरको सम्वृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न र महानगरसँगै उपत्यकालाई नयाँ स्वरुप दिन आफू लागिपर्ने कुरामा जोड दिए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले एकिकृत विकासको अवधारणाका साथ अघि बढ्न सकेमा मात्र दिगो विकासले गति लिन सम्भव हुने विचार व्यक्त गरिन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले हाल शहरी व्यवस्थापनमा देखिएका चुनौतीको सामना गर्न नयाँ आयामका साथ अगाडि बढ्नुपर्ने बताए ।

उक्त कार्यक्रममा उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैँक र व्यक्तिगततर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरी महानगरमा बीस वर्षभन्दा बढी सेवा गरेका अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउदलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

कार्यक्रम शुरु हुनु अघि र्यालीको आयोजना गरी नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आह्वान सहित वसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरी हुँदै राष्ट्रिय सभागृहसम्म निकालिएको थियो ।