विविध कार्यक्रमको आयोजना गरी देशभर विश्व आप्रवासन दिवस मनाइँदै

काठमाडौँ, पुस ३ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले आज यही दिवसको अवसर पारेर प्रभातफेरी र सभाको आयोजना गर्यो । उक्त सभामा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विविध कारणले विदेशिएका नेपाली आप्रवासी कामदारको हक र अधिकारप्रति सरकार संवेदनशील रहेको बताउँदै नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताका लागि सरकारले विशेष पहल गरिरहेको र हालैमात्र जोर्डनसँग श्रम सम्झौता गर्न सफल भएको जानकारी दिएका छन् ।

नेपालको विद्यमान श्रम गन्तव्यलाई विकेन्द्रित गर्दै विकसित मुलुकमा कामदार पठाउन मन्त्रालयले अध्ययन अघि बढाएको श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले जानकारी गराए । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले आजबाट आयोगले वैदेशिक रोजगार पीडितको उजुरी लिन शुरुवात गरेको बताएका छन् । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले वैदेशिक रोजगारको ठगी घटाउन र पीडित कामदारको न्यायमा पहुँच बढाउन मन्त्रालयले सुधारका कार्यक्रम थालेको बताए ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झना गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।