‘वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारको व्यवस्था गरिनु आवश्यक’

पोखरा, पुस ३ । विश्व आप्रवासन दिवसको अवसरमा देशभर विभिन्न खालका कार्यक्रम गरि मनाइएको छ । वैदेशिक रोजगारमा गएका नेपाली युवाहरुलाई विभिन्न खालका समस्याले सताउने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु आवश्यक भएको कुरामा जोड दिइएको छ ।

आज विश्व आप्रवासन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमै फर्काउन सकिए देशको दिगो विकास हुनसक्ने विचार व्यक्त गरे । वैदेशिक रोजगारीमा गएका युवाले भोग्नुपरेका समस्याको निराकरण गर्न तथा वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन सबैको एकताबद्ध प्रयासको खाँचो रहने कुरामा उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल मानवअधिकार आयोग पोखरा कार्यालयका मानव अधिकार अधिकृत मोहन काफ्लेले युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

यसअघि विश्व आप्रवासन दिवस मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको पोखराको सिर्जना चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी गरेर मनाइएको थियो ।