काठमाडौँ, पुस ३ । छिटो र सहज रुपमा न्यायको पहुँच पुर्याउने योजनाका साथ काम गरिरहेको प्रधानन्यायाधीश गोपाल पराजुलीले बताएका छन् ।
न्याय परिषद्को २७ औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले उपभोक्तालाई सहज रुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताएका छन् । स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै प्रधानन्यायाधीश पराजुलीले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि अनुरोध गरेका छन् ।
न्याय प्रशासनलाई प्रभावकारी बनाउनका लागि संवैधानिक व्यवस्था अनुसार काम गर्ने बताउँदै उनले राजनीतिक परिवर्तन भए पनि न्याय परिषद्मा कुनै पनि असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश नियुक्ति, सरुवा लगायतका काममा सक्षमता, व्यावसायिकता र इमान्दारितालाई केन्द्रमा राखेर काम गर्न परिषद्का सबै सदस्यलाई अनुरोध गरे ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले जनताको आस्थाको धरोहरका रुपमा रहेको न्यायालयबाट छिटो र सहज न्याय पाउने तरिकाले काम गर्नुपर्ने बताए । परिषद्ले नेपालको संविधान अनुरुप काम गरिरहेको उल्लेख गर्दै थापाले नेपालको इतिहासमा पहिलो पटक खुल्ला परीक्षाबाट जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको बताए ।
नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीले गलत काम गर्नेलाई कारबाही गर्ने सम्मको अधिकार भएको परिषद्ले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न अनुरोध गरेका छन् । उनले ८० प्रतिशतभन्दा बढी न्यायाधीश खुल्ला प्रतियोगिताबाट नियुक्ति गर्नु राम्रो कुरा भएको बताएका छन् ।
उक्त अवसरमा परिषद्ले प्रकाशन गरेको न्याय परिषद्को वार्षिक बुलेटिन प्रधानन्यायाधीश पराजुलीले सार्वजनिक गरे ।