काठमाडौँ, पुस ७ । दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो हुन नसक्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् ।
आज दलित सेवा संघद्वारा आयोजित ‘दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार : चुनौती र सम्भावना’ विषयक गोष्ठीमा अध्यक्ष शर्माले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।
दलित हक अधिकारका सवालमा सबै राजनीतिक दलका दलित एकै मञ्चमा उभिनुपर्ने उनको भनाई छ । उनले दलितबर्ग राज्यको उच्च ओहदामा पुग्न नसकेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुने कुरामा जोड दिए । नेकपा (माओवादी केन्द्र)का नेता विश्वभक्त दुलालले पछिल्लो समय दलितको अधिकार स्थापित हुँदै जान थालेको बताए ।
विश्वेश्वरप्रसाद कोइरालाले दलितको अधिकारलाई स्थापित गर्न प्रयत्न गरे पनि २०४६ सालपछि मात्र मार्ग प्रशस्त हुन थालेको उनको भनाई छ । दलित संघका अध्यक्ष चक्रमान विश्वकर्माले दलितको अधिकारलाई संविधानमा समावेश गरे पनि व्यवहारमा कार्यान्वयन हुन कठिन भएको बताए ।
उनले जातपातको विभेद वा भेदभावका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको भन्दै यस्ता खालका घटना हुनबाट रोक्न यस्तो अभियानले महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरेका छन् ।
उपाध्यक्ष टंक विश्वकर्माले दुई दिनसम्म चल्ने गोष्ठीमा मुलुकभरका ३५ जिल्लाका दलित अगुवा एवं प्रतिनिधिले सहभागिता जनाएको जानकारी गराएका छन् ।