अनिश्चितकालीन कर्फ्यु पुनः शुरु

कालीकोट, पुष ९ । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु अर्को आदेश नहुञ्जेलसम्मका लागि पुनः शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यु हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ बद्रीनाथ गैरेले बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्को सूचना नहुँदासम्मका लागि थप गरिएको बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नुका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यु लगाइएको थियो । आन्दोलनकारीले शनिबार राति कर्फ्यु जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।