लहान, पुस ९ । क्यान्सर अस्पताल नहुँदा अन्यत्र धाउनुपर्ने बाध्यता झेल्दै आएका सिरहाका बासिन्दाले अब आफ्नै ठाउँबाट उपचार गराउन पाउने भएका छन् । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ ।
लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाएका हुन् । पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडाँै धाउन बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमतिसमेत भएको छ ।
लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक हो, अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्नेछु, कार्यक्रममा विविभागीयमन्त्री गिरिराजमणि पोखरेलले भनेका थिए । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख मुनि साहले अस्पताल निर्माणका लागि नगरपालिकाका तर्फबाट जग्गा र व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरिने प्रतिबद्धता जनाए ।
मुरारका ग्रुपका सञ्चालक तथा लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालका संस्थापक अशोक मुरारकाले आफ्नो गृह नगरसमेत रहेको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । यस्तै नेपाली काँग्रेसका नेता तथा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका संस्थापक पदमनारायण चौधरीले अस्पताल निर्माण गर्ने आफूहरुको धेरै पहिलेदेखि नै योजना रहेको बताउँदै निर्माणमा सहयोग गरिने प्रतिबद्धता जनाए ।
बढ्दो विषादीको प्रयोग, अस्वस्थ्य जीवन शैली तथा धूम्रपान र मद्यपानका कारण वर्षेनी अर्बुद रोगीको संख्या बढ्दै गए पनि २ नं प्रदेशमा अस्पताल नहुँदा बिरामी मारमा पर्दै गएकाले अस्पताल निर्माण गर्न आवश्यक रहेको सरोकार भएकाहरुले बताएका छन् । लहानमा क्यान्सर अस्पताल निर्माण भएपछि हौसिएका उद्योगी र समाजसेवीले नेपाल अर्बुद निवारण संस्था सिरहालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
अस्पताल निर्माणका निम्ति रु एक लाख आर्थिक सहयोग गर्ने उद्योगी राजेन्द्र मुरारका र समाजसेवी मनीष उप्रेतीलाई संस्थाको सदस्यतासमेत प्रदान गरिएको छ ।