नेपालगञ्ज, पुष १० । पुष लागेसँगै बढेको चिसोका कारण शीतलहर तथा बाक्लो कुहिरोले पश्चिम तराईका जिल्लाको जनजीवन दुःखमय बन्दै जान थालेको छ ।
तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम चालु रहेपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्न थालेको छ । यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार चिसोसँगै बहने सिरेटोले पनि बढी प्रभावित भएको पाइएको छ ।
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि कम हुँदै गएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको बताइएको छ । अध्यधिक चिसो बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा दाउरा बालेर दिनभरि तापेर बस्ने गर्दछन् ।
नेपालगञ्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय आक्रोसित भएका छन् । यसैबीच, यहाँका मानवअधिकारकर्मीका संघसंस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापनपत्रमा बाँके जिल्लाका अति विपन्न परिवारलाई शीतलहरबाट जोगाउन आवश्यक पहल गर्नुपर्ने माग राखेका छन् ।
तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेपछि त्यहाँका मानिसले पनि निकै कष्ट बेहोरिरहेका छन् ।
तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि, हुस्से लागेपछि हवाई उडानसमेत आंशिक रुपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले बताएको छ ।