यातायात व्यवसायीको पाँचौँ राष्ट्रिय महाधिवेशन माघ १७ बाट चितवनमा हुने

काठमाडौँ, पुस १४ । चितवनको नारायणगढमा माघ १७ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौँ  राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन भएको छ । समितिले आवश्यकता अनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था तथा यातायात व्यवसायको क्षेत्रमा भएका प्रगतिको समीक्षा र आगामी दिनमा विकास गर्नुपर्ने व्यावसायिकताबारे छलफल गर्ने महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

राष्ट्रिय महाधिवेशनलाई भव्य, सभ्य र मर्यादित बनाउनका लागि गृहकार्य भइरहेको बताउँदै महासचिव सिटौलाले अब महासंघलाई संघीय ढाँचामा लैजानका लागि केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने निर्णयसमेत भएको जनाएका छन् ।

राष्ट्रिय परिषद्को आज हुने भेलाका लागि देशभरका संघसंस्था तथा प्रालिका अध्यक्ष सहितका पदाधिकारी काठमाडौँ आइसकेका छन् ।