बर्दिवास, पुस १४ । सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको आवश्यकता रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले बताएका छन् ।
महोत्तरीे बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उनले भ्रष्टाचार विरुद्धको अभियानमा सबैको सहभागिताको खाँचो परेको बताए । प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचार विरुद्ध अभियान चालेको बताउँदै भ्रष्टाचारका बिषय सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सम्भव हुने भएकाले यसमा आम चासो बढाउन आवश्यक रहेको उनको भनाई छ ।
आयोगले भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धि र तत्काल कारबाही बढाउन सजिलो होस् भनेर मुलुकका विभिन्न ठाउँमा कार्यालय स्थापना गर्ने अभियानका क्रममा बर्दिवासमा नयाँ प्रशासनिक भवन बनाउन लागिएको कार्यक्रममा जानकारी गराइयो ।
बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित १३ कठ्ठा आठधुर क्षेत्रफलमा रु १३ करोड ९० लाख ६४ हजार १२७ को लागतमा सो भवनको निर्माण कार्य शुरु गरिएको बर्दिवासस्थित आयोगको कार्यालयले जानकारी गराएको छ ।
सुरक्षाकर्मी आवासका लागि एउटा तीन तल्ले र प्रशासनिक भवनका लागि अर्को दुई तल्ले भवन निर्माण हुनेछ । दुवै भवनमा गरेर जम्मा २० कोठा रहनेछन् ।