पाँचौ राष्ट्रिय टोपी दिवस देशभर मनाइदै

काठमाडौं पुस १७ । विदेशी नयाँ वर्षलाई नेपालीहरुले टोपी दिवसको रुपमा मनाउन थालेको पाँचौ वर्ष भइसकेको छ । विदेशी नयाँ वर्षमा नेपालीहरुले पाँच वर्ष अगाडी नेपाली नयाँ वर्ष भन्दा पनि भिन्न रुपले मनाउदै आएका थिए । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी पाँचौँ राष्ट्रिय टोपी दिवस मनाइएको छ । टोपी दिवस मनाउँदै गर्दा आफ्नो सांस्कृति र पहिचानलाई जोगाइ राख्नका लागि यो अभियानको प्रारम्भ गरेको बुद्धीजीवी बताउँछन् ।

टोपी दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्याली निकालेका छन् । माइतीघरबाट शुरु भएको र्याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो । र्यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए । राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको बताए । उनले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त अत्यन्त राम्रो पक्ष भएको बताए ।

विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि र्याली  नै निकालेर दिवस मनाउन थालिएको पौडेलले जानकारी गराए । यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको हो ।