फूलबारी रिसोर्टले सरकारलाई तीन अर्बभन्दा बढी रकम बुझाउनुपर्ने

काठमाडौं, पुष १७ । पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सर्वोच्च अदालतले सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो ।

सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए । अदालतले हिजो सो रिट निवेदन खारेज गर्दै कर छुट नदिने फैसला सुनाएको हो ।

आदेशअनुसार रिसोर्ट सञ्चालक अमात्यले क्यासिनो र होटल सञ्चालन गरेबापत रोयल्टीको बक्यौता रकम साँवा, ब्याज र त्यसको हर्जानासहित सरकारलाई रु तीन अर्बभन्दा बढी रकम बुझाउनुपर्ने हुन्छ ।