श्रम नियमावली जारी गर्न विलम्ब गर्न नहुनेमा परिसंघको जोड

काठमाडौँ, पुष १९ । श्रम ऐन लागू भइसकेको सन्दर्भमा श्रम नियमावली जारी गर्न विलम्ब गर्न नहुनेमा नेपाल उद्योग परिसंघले जोड दिएको छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरलाई आज उनकै कार्यकक्षमा भेटेर शीघ्र नियमावली जारी गर्न आग्रह गरेको हो ।

श्रम ऐनले निर्धारण गरेका विषयवस्तुमा समेत असल श्रम सम्बन्ध, अन्तर्राष्ट्रिय मूल्य मान्यता र देशको अवस्थालाई दृष्टिगत गरी स्थानीय वास्तविकताको धरातलमा समेत व्यवहारिक एवं समय सापेक्षित किसिमको श्रम नियमावली आउनु पर्ने अध्यक्ष शर्माको भनाइ छ ।

परिसंघले विशेष प्रकृतिको उद्योग सेवासम्बन्धी व्यवस्था अन्तर्गत सेवा शुल्कको वितरणसम्बन्धी व्यवस्थामा विगतमा भएका सहमति अनुसार हुनुपर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको गठनमा परिसंघ समेतको सहभागिता स्पष्ट किटान हुनुपर्ने माग राखेको छ ।