चारपांग्रे सवारीलाई महानगरको भित्री सडकमा रोक लगाइँदै

 

काठमाडौँ, पुस १९ । शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारीलाई गुड्न काठमाडौँ महानगरपलिकाले रोक लगाउने भएको छ । आगामी माघ २ गतेदेखि यस किसिमको नियम लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।

कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या पर्ने भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी गराएका छन ।

शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ वडाहरुमा सवारी निषेध गर्न लागिएको हो । बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले यस्तो निर्णय गर्नु परेको हो । इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमा चारपांग्रे गाडीलाई निषेध गर्ने र उनीहरुका लागि अन्य विकल्प पनि खोजिने बताइएको छ ।

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिने बताइएको छ ।