मोरङ, पुष २३ । विगत केही दिनदेखियता अत्यधिक चिसो बढेसँगै मानिसको दैनिकी कष्टकरमय बनेको छ ।
अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले आज सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । बर्खे बिदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको जनाइएको छ ।
सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जनाएका छन् । अत्यधिक चिसोका कारण विद्यालयमा विद्यार्थी आउन छाडेपछि विद्यालय बन्द गर्नुपरेको उनको भनाई छ । मोरङमा ५९६ सामुदायिक र ३८४ निजी विद्यालय छन् ।
मोरङका कतिपय निजी विद्यालयमा अहिले परीक्षा सञ्चालन भइरहेका छन् । शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेपछि निजी विद्यालयले पनि पछि परीक्षा गर्ने गरी तत्कालका लागि बन्द गर्ने भएका छन् ।