काठमाडौँ, पुष २३ । ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न ग्यास बिक्रेता महासंघले सरकारसँग माग राखेको छ ।
आज महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासग भेट गरि ग्यास डिलरले हाल पाउँदै आएको रु ३२ को कमिसनलाई ६७ पुर्याउनुपर्ने माग राखेको हो । ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट)व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले जानकारी गराएका छन ।
सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ । उनले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी गर्नुपर्ने माग गरेको बताए । काठमाडौँमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको भनाइ छ ।
सो मागका बारेमा प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर निर्णय लिने बताएको अर्यालले जनाएका छन ।