प्रभावित क्षेत्रमा आवश्यक राहतको व्यवस्था गर्न अनुरोध

काठमाडौँ, पुष २४ । प्रकोप प्रभावित क्षेत्रमा तुरुन्तै राहत पुर्याउनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग अनुरोध गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनु परेकोप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था मिलाउनका लागि अनुरोध गरेका हुन् ।

तराई –मधेशका जिल्लामा चिसो बढेसँगै परेको शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकले ज्यान गुमाउनु परेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।