राज्जारानीको मुनाफा बालविवाह र दाइजो प्रथा निर्मूल गर्न खर्च गरिने

जनकपुरधाम, पुस २४ । तराईको भुभागमा धेरै भन्दा धेरै प्रचलित बालविवाह र दाइजो प्रथा निर्मूल गर्नका लागि पछिल्लो समयमा निकै पहल भएका छन् ।

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली चलचित्र राज्जारानीको मुनाफा सामाजिक अभियानमा खर्च गरिने चलचित्र निर्माण टिमले घोषणा गरिसकेको छ । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा सो चलचित्र निर्माण गरिएको छ । चलचित्रमा बलविवाह र दाइजोमा कुरा नमिल्दा उत्पन्न हुने समस्यालाई प्रस्तुत गरिएको छ ।

मैथिली र नेपाली भाषामा निर्माण गरिएको उक्त चलचित्र पुस २१ गतेदेखि हाल उपत्यका बाहिरका हलहरुमा सफलताका साथ प्रर्दशन भइरहेको निर्माण पक्षले जानकारी गराएको छ । मैथिली भाषाको राज्जारानी चलचित्र पर्सादखि मोरङ जिल्लाको २० भन्दा अधिक चलचित्र घरमा प्रदर्शन भइरहेको बताइएको छ । उक्त चलचित्रलाई छिट्टै भारतको विहार, झारखण्ड र उत्तर प्रदेशमा पनि लगिने चलचित्र निर्माता राजकुमार महतोले बताएका छन् । यसैगरी सो चलचित्रलाई मलेसिया, दुबई, अमेरिका, बेलायत, जर्मनी, स्विटजरलेण्ड, अष्ट्रेलिया र नर्वेलगायतका राष्ट्रमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्माताले बताएका छन् ।

निर्माता महतोले मैथिली चलचित्र राज्जारानीको मुनाफा बाल विवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान, मोरङदेखि पर्सा जिल्लासम्मका अति विपन्न परिवारका बालिकाको शिक्षामा र वीरगञ्जदेखि विराटनगरसम्मका कोरिडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रवद्र्धन र सृदृढीकरणमा खर्च गर्ने जानकारी गराएका छन् । महतोको सरानिय उक्त कार्यलाई सबैले सम्मान गर्दै तराई क्षेत्रमा हुने बाल विवाह, दाइजो प्रथा लगायतको कुरितिको अन्त्य गर्नका लागि त्यहाँका अशिक्षित बालिकाहरुलाई शिक्षित बनाउनु नै समस्याको समाधान हो भन्दा फरक नपर्ला ।