ओखलढुंगा, पुष २४ । ओखलढुंगालाई कुनै समयमा राडीपाखीका लागि प्रख्यात जिल्लाको रुपमा लिने गरिन्थ्यो । पछिल्लो समय ओखलढुंगाका गुरुङ समुदायहरुको पुख्र्यौली पेशा राडीपाखी लोप हुँदै जान थालेको छ ।
पुस्तौ पुस्तादेखि सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका गुरुङ समुदायहरुले भेडाको उनबाट राडीपाखी बुनेर राम्रो आयआर्जन गर्दै आइरहेका थिए । तर, पछिल्लो समय राडीपाखी व्यवसाय संरक्षणको अभावमा लोप हुँदै जान थालेको हो । यहाँका गुरुङ समुदायको परम्परागत पेशा भेडापालन र राडीपाखी उत्पादन भएपनि पछिल्लो समय यसप्रति युवा पुस्ताको मोह घट्दै जानु तथा भेडा चरिचरनको अभाव हुनुले यो पेशा लोप हुने अवस्थामा पुगेको हो ।
भेडीगोठबाटै गोठालेले ऊन काटेर ल्याउने र चिसो पानीमा पखालेर सुकाएपछि सुकेको ऊनलाई कोरेर सफा पार्ने गरिन्छ । त्यसपछि ऊनलाई चर्खामा लगाएर धागोको डल्लो बनाएपछि तान लगाएर राडी बुन्ने गरिन्छ । यसरी बुनेको राडीलाई उमालेको तातो पानीले धोएपछि त्यसलाई तन्काएर सुकाएसंगै राडी तयार पारिन्छ । रुम्जटारका एक ७५ बर्षिय बृद्धाले भने– आजकालका युवायुवतीलाई फोहोर हुन्छ रे छुनै मान्दैनन्, हामी त हाम्रो पेसा नै यही हो गर्नै पर्यो ।
रुम्जाटार कुनै समयमा राडीपाखीका लागि प्रख्यात मानिन्थ्यो । जानकारहरुका अनुसार यहाँका राडीपाखी भारत,चीन,अमेरिका लगाएतका विभिन्न ठाउँसम्म पुग्ने गरेको पाइन्थ्यो । ‘भेडा चरिचरणका लागि उपयुक्त मानिने क्षेत्रहरु सामुदायीक वनको रुपमा परिणत भएको र युवाहरुमा पनि विदेशिने मोह बढ्न थालेकाले यो पेशा लोप हुन थालेको स्थानीय गंगाराम गुरुङको भनाइ छ ।