टोलटोलमा मिनी क्यासिनोः जुवा अखडामा नायिकादेखि पूर्वमन्त्रीसम्म !

सानेपाको प्रहरी बिटबाट करिब ३० मिटरको दूरीमा चारकोल लाउन्ज एन्ड बार छ । रेस्टुरेन्टसँगै एउटा साढे दुईतले घर छ । उक्त घरमा करिअर डेभलपमेन्ट ट्रेनिङ इन्स्टिच्युटको नाममा बोर्ड टाँगिएको छ । तर, त्यहाँ करिअरसम्बन्धी कुनै तालिम दिइँदैन । जुवा खेल्न सिकाइन्छ । इन्स्टिच्युटको आवरणमा उक्त घरमा विगत ६ महिनादेखि गोप्य रूपमा मिनी क्यासिनो सञ्चालन हुँदै आएको थियो । गत शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट छापा हान्न गएको टोली त्यहाँको वातावरण देखेर चकित भयो । ‘क्यासिनोमा भन्दा त्यहाँ केही कम थिएन,’ छापा हान्न गएकी सिआइबीकी एसपी मीरा चौधरी भन्छिन्, ‘खानपिनको व्यवस्थासहित क्वाइनहरू राखेर जुवा चलिरहेको थियो ।’ तास बाँड्ने र हिसाब राख्ने युवतीहरू थिए । खेलाडीलाई मदिरा र खानपिनको व्यवस्था गरिएको थियो । क्यासिनोमा जस्तै ५ वटा टेबल राखेर त्यहाँ जुवा खेलाइन्थ्यो । हरेक दिन बिहान, दिउँसो र बेलुका जुवा चल्थ्यो । सिआइबीले ८ युवतीसहित २३ जनालाई त्यहाँबाट पक्राउ गर्‍यो । क्यासिनोका सेयरहोल्डरहरू तारा शर्मा रिजाल र कपिन नागपाललाई समेत पक्राउ ग¥यो । ‘पक्राउ पर्नेहरू धेरै पेसेवर जुवाडे थिए,’ सिआइबीका डिएसपी ज्ञानेन्द्र फुँयाल भन्छन्, ‘जुवाबाट उनीहरूले आफ्नो परिवार र सम्पत्ति डुबाइसकेका थिए ।’ पक्राउपछि धेरैले पछुतो मानेका थिए । तर, नशा लागेकाले छाड्न नसकिएको पक्राउपछि उनीहरूले बताएका छन् ।

मिटरब्याज लगानीकर्ताको मिनी क्यासिनो

 

सानेपाको उक्त मिनी क्यासिनोका सञ्चालक रमेश अग्रवाल हुन् । जो सोल्टी होटेलमा रहेको माजोङ क्यासिनोमा टेबुल चलाउँछन् । जुवा खेल्नेहरूलाई उनी पैसा पनि लगानी गर्छन् । नेपाली ग्राहकलाई छिराउन समस्या भएकाले उनले त्यसरी गोप्य क्यासिनो खोलेका हुन् । सिआइबीका अधिकारीका अनुसार पक्राउ परेका ८ युवतीमध्ये केही माजोङ क्यासिनोकै कर्मचारी हुन् । जहाँ ठ्याक्कै क्यासिनोकै शैलीमा जुवा खेलाइने गरिएको थियो ।

राजधानीमा यस्ता गोप्य जुवाघरहरू गल्ली–गल्लीमा छन् । एकान्त स्थानका घर, अपार्टमेन्ट, रिसोर्ट तथा होटेलमा जुवा खेलाइने गरिएको छ । कतिपय स्थानमा प्रहरीको मिलेमतोमा अवैध मिनी क्यासिनो सञ्चालनमा छन् भने केही अवस्थामा प्रहरीले छापा हाने पनि छुटेपछि फेरि सञ्चालन हुने गरेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशी भन्छन्, ‘धेरै ठाउँमा गोप्य रूपमा जुवा खेलाइन्छ भन्ने सुनिन्छ, हामीले सूचना पाएसम्म छापा हानिरहेका छौँ ।’

 

पार्टी प्यालेसदेखि होटेलसम्म

 

गत शुक्रबार सिआइबीले सानेपामा छापा हानिरहँदा महानगरीय प्रहरी वृत्त अनामनगरको टोली अनामनगरको एक घरमा जुवाडेहरूलाई पक्राउ गर्न पुगेको थियो । ६७ हजार पाँच सयसहित प्रहरीले ५ जनालाई पक्राउ गर्‍यो । उनीहरू आइतबार जिल्ला प्रशासन कार्यालयबाट साधारण तारेखमा छुटे । पक्राउ पर्नेमा तीन पत्रकार पनि थिए । उनीहरूसमेत नियमित रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय धेरैजसो होटेलमा क्यासिनो सञ्चालन हुने गरेको छ । गत वर्ष ठमेलको नेपालय होटेल तथा नक्सालको गणपति होटेलबाट ठूला जुवाडे पक्राउ परेका थिए । त्यस्तै नयाँ बजारको एक पार्टी प्यालेसमा पनि नियमित रूपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा छापा हानी जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौर बताउँछन् । त्यस्तै राजधानी आसपासका रिसोर्टहरूमा पनि जुवा खेलाइने गरिएको छ ।

हरेक हप्ताजसो राजधानीमा जुवा खालबाट जुवाडे पक्राउ पर्छन् । सानातिना अखडाबाट जुवाडेहरू भटाभट पक्राउ परे पनि ठूला अखडाबाट भने कहिलेकाहीँ मात्र पक्राउ पर्ने गरेका छन् । ठूला मिनी क्यासिनोमा पहुँचवाला व्यक्ति नै जुवा खेल्न जाने भएकाले प्रहरीले ती अखडामा छापा मार्ने आँट गर्दैन । कतिपय अखडामा प्रहरीसँगै सेटिङ हुने गरेको छ ।

 

गुन्डादेखि प्रहरीसम्मको लगानी

 

धेरैजसो गोप्य जुवाघर गुन्डागर्दीमा संलग्न व्यक्तिले चलाउने गरेका छन् । काभ्रेली समूहका दावा लामाले जुवा खेलाएर करोडौँ कमाएका छन् । गत दसैँमा डिल्लीबजारको एक जुवा अखडामा उनले जुवाडे प्रदीप बोगटीलाई नै कुटपिट गरी पैसा लुटेको उजुरी प्रहरीमा पुगेको थियो ।

जुवा खेल्नेहरूलाई चेक, गाडी तथा लालपुर्जा धितो राखेर चर्काे ब्याजमा पैसा लगाउने गर्छन् । पैसा फिर्ता नदिए उनीहरूले धितो कब्जा गर्छन् । यसरी जुवामा पैसा लगाएर दर्जनौँ व्यक्ति करोडपति भएका छन् । जसमा बलराम सापकोटा, अजयमान श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, अरुण सेढाईं, राम लामा, कविन शाक्यलगायत व्यक्ति जुवाबाटै करोडौँ कमाउने व्यक्तिमा पर्छन् ।

केही प्रहरी अधिकारीसमेत नियमित रूपमा जुवा अखडामा जाने र पैसासमेत लगाउने गरेका छन् । करिब दुई महिनाअघि अपराध महाशाखा र काठमाडौं परिसरले रोयल क्यासिनोमा छापा हान्दा आफ्नै हाकिमलाई फेला पारेको थियो । केही अवकाशप्राप्त प्रहरी अधिकारीहरूमा जुवाको लत छ । त्यस्तै, सैनिक अधिकारीहरूले समेत आफ्नै घरमा जुवा खेलाउने गरेका छन् । सेनाको घर भनेपछि प्रहरीले पनि हत्तपत्त छापा नहान्ने भएकाले सैनिकका घरहरूमा पनि पेसेवर रूपमै जुवा खेलाउने गरिन्छ ।

गत वर्ष जेठमा ठमेलको मनाङ होटेलमा सञ्चालित मिनी क्यासिनोमा प्रहरीले छापा हानी राप्रपा नेपालका केन्द्रीय सदस्य भुजुङ गुरुङसहित २४ जनालाई पक्राउ गरेको थियो । नल्र्याङ सेवा समाजको कार्यालयमा बाहिरबाट ताला लगाएर त्यहाँ नियमित रूपमा जुवा खेलाउने गरिएको खुलेको थियो ।

क्यासिनोमा यसरी छिराइन्छ नेपाली

अहिले राजधानीका क्यासिनोमा नेपालीलाई प्रवेशमा निकै कडाइ छ । तर, पनि चोरबाटोबाट आफ्ना नियमित ग्राहकलाई क्यासिनोले छिराउने गरेका छन् । भारतको नक्कली रासनकार्ड बनाएर नेपालीलाई क्यासिनोमा छिराउने गरिएको छ । गत पुसमा महानगरीय प्रहरी वृत्त कालिमाटीले अजय साहको नाममा बनाइएको नक्कली रासनकार्ड लिएर क्यासिनो छिरेका श्रवणकुमार शाहीलाई पक्राउ गरेको थियो ।

हाल राजधानीमा सोल्टीमा माजोङ, याक एन्ड यतीमा रोयल, सांग्रिलामा द मिलिनियर्स क्लब, र्‍याडिसनमा क्यासिनो ¥याड र हायातमा प्राइड क्यासिनो सञ्चालनमा छन् । अन्नपूर्ण र मल्ल होटेलमा पनि क्यासिनो सञ्चालनको तयारी भइरहेको छ ।

मदिरा, वेश्यावृत्ति र जुवा

मान्छेका तीन कुलतमध्ये मदिरा, वेश्यावृत्ति र जुवा पर्छन् । हाल खुलेका मिनी क्यासिनोहरूमा यी तीनै कुरा उपलब्ध हुन्छ । प्रहरीले छापा हानेका सबैजसो मिनी क्यासिनोबाट युवतीहरू पक्राउ पर्छन् । गत शुक्रबार सानेपास्थित जुवाघरबाट पनि ८ जना युवती पक्राउ परेका थिए । त्यसमध्ये केही खेलाडी तथा केही जुवाडेलाई सेवा दिन राखिएका थिए । जुवा सञ्चालकहरूले खेलाडीलाई आकर्षित गर्न यसरी युवती राख्ने गरेका छन् । त्यस्तै मदिरा पनि निःशुल्क खुवाउने गरेका छन् ।

मोबाइल क्यासिनो फस्टाउँदो