भृकुटीमण्डपमा माघे सकराती महोत्सव गरिने

काठमाडौँ, पुष २७ । आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा नेपाल मगर संघले माघे सकराती महोत्सवको आयोजना गर्ने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उद्घाटन गरिने सो कार्यक्रममा माघे सकरातीमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत, संगीत र सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजकले बताएको छ ।

संघका अध्यक्ष नवीन रोका मगरले बुधबार पत्रकार सम्मेलन गरी मानव सभ्यताको शुरुवात भएदेखिबाट नै मगर समुदायले माघे संक्रान्ति मनाउँदै आएको भन्दै उनीहरुको सांस्कृतिक, सामाजिक विकास क्रमलाई महोत्सवमा चित्रण गरिने बताएका छन् ।

माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैरमगर समुदायले पनि मनाउने गरेको चाड भएको अथवा राज्यको नै चार्डको रुपमा मनाउदै आएको यस पर्वलाई पनि राज्यले अन्य चाडपर्वजस्तै सम्मान गर्न सक्नुपर्ने उनको भनाई छ ।

‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकारसहित संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ कार्यक्रम गरिने भएको छ ।