राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको छ ।
परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकामा ७४ जनाको परीक्षा रद्द भएको छ । १ जनाको परीक्षाफल रोकिएको छ । बोर्डले परीक्षाफल http://neb.ntc.net.np मा हेर्न सकिने जनाएको छ ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) को प्रणालीलाई अनुसरण गर्दै बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशित गरेको हो ।
(एसईई) को नतिजामा अधिकतम चार जिपिएलाइ आधार मानेर प्राप्ताङ्क दिइएको थियो भने ११ मा पनि सोही प्रणाली अबलम्बन गरिएको छ ।
यस प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ए प्लस दिइन्छ भने यसलाई जिपिएमा चार मानिन्छ । यस भन्दा प्रत्येक तल्लो ग्रेडमा जिपिए चारबाट जिरो दशमलव चार प्वाइन्टका दरले घटाउदै अंक दिने व्यवस्था गरिएको छ ।
परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ ।
बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए ।
एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगत रुपमा नतिजा पाउने छन् ।