इलाम, मंगलबारे पुस ३० । जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले यस बेला इलाम देउमाइवासीमा खुसियाली छाउनु स्वाभाविक नै हो ।
देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पुर्याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ ।
जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले जानकारी गराए ।
त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पुर्याउन नगद रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।
नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ३०० जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ । विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ ।
यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानीय युवराज खनालले जानकारी गराए । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ छ ।